२० वर्ष कैद तोकिएका नेपाली नागरिक तिलकबहादुर थापामगरलाई अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले क्षमादान दिएका छन्। विगत दुई वर्षदेखि अफगानिस्तानमा जासुसीको आरोपमा सजाय भोगिरहेका तनहुंका थापामगरलाई राष्ट्रपति कारजाईले क्षमादान दिएका हुन्। कारागार मुक्त हुनासाथ उनलाई अफगान अधिकारीहरुकै रोहबरमा विमानस्थलमा लगी नेपाल पठाइएको छ। थापा दुबई हुँदै आज काठमाडौ झर्दैछन्। पाकिस्तानी जासुसी संस्था आईएसआईलाई इमेलमार्फत “टिप्स र सूचना’ चुहाउने काम गरेको आरोपमा आफगानिस्तानको शक्तिशाली जासुसी संस्था नेशनल डिरेक्टोरेट अफ इन्टेलिजेन्सले उनलाई १९ अप्रिल २०११ मा पक्राउ गरेको थियो।
तिलक हेल्मन्ड प्रान्तस्थित आफू काम गर्ने कम्पनीबाटै २०६८ वैशाख ६ गते गिरफ्तार भएका थिए। उनलाई सुरुमा हेलमन्डको प्रान्तीय अदालतले पहिले १६ वर्ष कैदसजाय तोकेको थियो। थापामगरलाई थाहै नदिई, र कुनै वकिल उपलब्ध नगराई सर्वोच्चम पुगेको उक्त मुद्दामा सर्वोच्चका न्यायाधीशले थप ४ वर्ष गरी २० वर्ष कैद तोकेका थिए। ‘गिरफ्तार अफगानी नागरिकले नाम पोलेपछि गिरफ्तार गरे। पछि त्यही व्यक्तिले कुरानमा हात राखेर अदालत सामुन्ने हामी निर्दोष भएको बताउँदा पनि जेलसजाय १६ वर्षबाट २० पुर्याखइयो,’ उनले भने, ‘त्यसपछि चाहिँ जेलमुक्त हुन्छु भन्ने आशा मरेर गयो।’
हेलमन्डको जेलजीवन निक्कै कष्टकर रहेको उनले सुनाए। भाषा, धर्म केही मिल्दैनथ्यो,’ उनले भने, ‘तालिबानीको भीडमा एक्लै बस्दा सधैं डर लाग्थ्यो।’ सुरुमा तालिबानीले धर्म सोधेको उनले सुनाए। ‘उनीहरु मलाई तालिबानविरुद्ध लड्न आएका सम्झन्थे,’ उनले भने, ‘मैले लामो प्रयासपछि उनीहरुको त्यो भ्रम चिरेँ।’
अफगानिस्तानले उनीहरुलाई पाकिस्तानी जासुसी संस्था आइएसआईलाई इमेलमार्फत सूचना चुहाउने काम गरेको आरोप लगाएको थियो । उनको अवस्थाबारे समाचार आएपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मानवीय आधारमा थापामगरलाई आममाफीका लागि कारजाईलाई पत्र लेखी औपचारिक अनुरोध गरेका थिए । थापामगरको रिहाइपछि इस्लामाबादस्थित राजदूतावासबाट जारी विज्ञप्तिमा अफगान सरकार र कारजाईलाई आभार व्यक्त गरेको छ।
0 comments:
Post a Comment